काठमाडौं २ साउन । धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ ।
काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ। ‘समितिले गहिराइमा पुगेर छानबिन गर्दै छ ।
छानबिनपछि आउने परिणामले दोषीलाई सचेत गराउने, कारबाही गर्ने र निलम्बनसम्म गर्न सक्छ’, पौडेलले नेपाल समाचारपत्रलाई जानकारी गराउँदै भनेका छन्– ‘छानबिनको प्रक्रिया पूरा गर्न केही समय लागे पनि पीडितले न्याय पाउनेमा निश्चिन्त भए हुन्छ ।’ अस्वस्थ शिशुका पिता सञ्जीव न्यौपाने र माता एकता घिमिरेले नेपाल मेडिकल काउन्सिलमा झन्डै एक महिनाअघि उजुरी दिएका हुन् । छानबिनका लागि टोली गठन भएर कामको थालनी गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नदिइएको न्यौपाने दम्पतीले बताए । नेपाल समाचारपत्र