काठमाडौं २४ भदौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । १० जनाको समूहले सामूहिक बलात्कार गरेको हो । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।
मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ ।
घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार छन ।