काठमाडौं २६ असोज । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको टोलीबीच छलफल भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालय सदस्यहरूले भेटवार्ता भएको छ । १०: ३० बजेदेखि होटल सोल्टीमा भेटघाट करिब आधाघण्टासम्म भएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरू र राष्ट्रपति सीबीचको भेटवार्तामा कम्युनिष्टपार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको बताए । यसअघि भएको सहमति कार्यान्वयनका विषयमा पनि कुराकानी भएको बताए ।
सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता छलफल समेत भएको छ । राष्ट्रपति सीले शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।त्यसअघि शनिबार नै राष्ट्रपति सी शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
आजै राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्ताका क्रममा केही महत्वपूर्ण सम्झौता र सहमति पत्रमा हस्ताक्षर हुनेछ। दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आइतबार दिउँसो १ बजे चीन उड्ने छन्।