काठमाडौं ५ कात्तिक । प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक विवादमा अल्झिँदै गएको छ ।
पार्टी संगठनको संरचनालाई पूर्णता, भ्रातृसंस्था, विभाग गठनलगायतका विषयमा पार्टीभित्र फेरि विवाद देखिएको छ। स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टी पराजित भएपछि सामूहिक निर्णयबाट अगाडि बढिरहेको कांग्रेसमा फेरि विवाद सतहमा आएको हो।
सभापति शेरबहादुर देउवाले नेविसंघ गठनको तयारी अगाडि बढाएपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘प्याकेज’मै टुंग्याउनुपर्ने अडान राखेका छन्। देउवाले पौडेलसँग अध्यक्षबाहेक अन्य पदका लागि नाम मागेका थिए तर पौडेल पक्षले भने नेविसंघ मात्र नभएर अन्य भ्रातृसंस्था, विभाग, जनसम्पर्क समिति, कार्यसम्पादन समितिलगायत पार्टीका सबै संरचना एकमुष्ट टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
‘नेविसंघमा नाम पठाउने बारेमा होइन, हाम्रो जोड विधि र प्रक्रियासम्मत हुनुपर्छ भन्ने हो। समग्ररुपमा भ्रातृसंस्थाको अधिवेशन, जनसम्पर्क समिति, विभाग सबैको सल्लाह गरेर बनाऔं,’ कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘जतिबेला सभापतिलाई चाहिन्छ, त्यतिबेला खल्तीबाट नाम निकालेर दिने अवस्था सिर्जना नगरौं, पार्टीको महाधिवेशन पनि नजिकिएको छ, बाँकी सबै संरचनामा एकमुष्ट टुंगोमा पुर्याऔं भन्ने हाम्रो भनाइ हो ।’ अन्नपूर्णपोष्टबाट