काठमाडौं १४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विभाग गठनका विषयमा सकस देखिएको छ । गत साता नै विभाग गठनको तयारी भएको भए पनि विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा प्रस्ताव भएपछि सकस देखिएको हो । गत ७ कात्तिकमा सभापति शेरबहादुर देउवाले विभाग गठनसहित उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समिति बैठक बोलाएका थिए । सोअघि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ४२ विभागको प्रस्ताव गरेका थिए ।
तर, पौडेलले भने महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो । सो विषयमा सहमति जुटाउन भन्दै सभापति देउवाले बिहीबार बिहान फेरि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीसहित शीर्ष नेताको बैठक बोलाएका छन् ।
वरिष्ठ नेता पौडेलले उपनिर्वाचनसहित अन्य आवश्यक विषयमा छलफलका लागि बोलाइएको बताए । पौडेलले बैठकमा विभाग गठनसहितका विषय उठाइने बताएका छन् ।
‘उपनिर्वाचनसहितका विषयमा छलफल गर्ने भन्ने छ, विभाग गठनका विषयमा पनि कुरा उठ्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
कांग्रेसले शुक्रबार भने केन्द्रीय समिति बैठक बोलाएको र सो बैठकमा उपनिर्वाचनका विषयमा उम्मेदवारबारे छलफल गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो बैठकमा समेत विभाग गठनसहितका विषयमा छलफल हुने बताइएको छ । इतर पक्षले भने अब बस्ने बैठकमार्फत पार्टीका सबै रिक्त विभाग, नेविसंघ, तरुण दलसहितका सबै भ्रातृसंगठनका विषयलाई समग्रतामा प्याकेजमा नै टुंग्याउनुपर्ने बताएको छ । राजधानीबाट