काठमाडौं २६ कार्तिक । चार दिने सदभावना भ्रमणका क्रममा बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलवार काठमाण्डू आइपुगेका छन्।
दक्षिण एसियाका यी दुई छिमेकी मुलुकबीचको सम्बन्ध पछिल्लो समय सम्पर्क सञ्जाल तथा ऊर्जा सहयोगमा केन्द्रित हुन थालेको छ।
गत वर्ष नै बाङ्ग्लादेशले नेपालबाट उसले आगामी २० वर्षभित्र ९ हजार मेगावाट बिजुली किन्न सकिने जनाएको थियो। दुई देशबीच भएको ऊर्जा सहयोगसम्बन्धी समझदारीपश्चात् उनीहरू अहिले भारतलाई त्यसमा सघाउ पुर्याउन घच्घच्याउँदैछन्। हाल देशको कूल जडित क्षमता नै १२ सय मेगावाट हाराहारीमा रहेका बेला ९ हजार मेगावाट बाङ्ग्लादेशलाई निर्यात गर्न कत्तिको सम्भव होला?
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेका अनुसार यो एकदमै सम्भव छ।
अड्चन र अवसर
बाङ्ग्लादेशको आश नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्ने रहेको देखिन्छ। “बाङ्ग्लादेशको सरकारी दस्तावेजमा उनीहरूले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्न चाहन्छौँ भन्ने उल्लेख गरेका छन्। त्यसकारण सन् २०४० सम्मको हाम्रो योजना हेर्दाखेरि त्यो परिमाणमा निर्यात गर्न सम्भव हुन्छ,” सचिव घिमिरे बताउँछन्।