Logo

एमसिसीका विषयमा भएका गलत प्रचारलाई अन्त्य गर्न जरुरी छः गृहमन्त्री खाँण



पाल्पा, ६ चैत । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउदैँ यसले देशमा विकास हुने उनले बताए ।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । ”

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।”

उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्