Logo

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा आइडियाथन चैत ९ गतेबाट



काठमाडौं, ८ चैत । अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा आएडियाथनको तेस्रो संस्करण भोलीदेखि (चैत ९) काठमाडौंमा हुने भएको छ ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिने भएको छ । महोत्सव अन्तर्गत आउने वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘आइडियाथन’ को आयोजना गर्नलागेको समेत जनाइएको छ ।

कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको बताइएको छ ।

अघिल्ला दुई संस्करणहरुमा, कनेक्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको बताइएको छ ।

यस संस्करणमा कनेक्ट इनले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गर्ने विश्वास लिइएको छ ।

कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिनेछ । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी सहभागी हुनेछन् ।

नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् ।

यसै वर्ष कनेक्ट इनकै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि वैशाख ७ गते सम्म ‘आइडियाथन’ को आयोजना गर्दैछ । दैनिक जीवनलाई प्रभाव पार्र्ने तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ । जसमा अन्तरदेशीय वाणिज्य, कृषिबजार, शहरी विकास र सुशासन समावेश रहने छन् ।

कन्क्लेभ तथा आइडियाथनमा युवाहरुलाई सक्रियताका साथ सहभागी हुन दूतावासकी नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले युवाहरुलाई आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्