Logo

दमक गोल्डकप भोलीबाट सुरु हुँदै, तयारी पूरा



झाँपा, ८ चैत । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको हो । प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन अर्मी, मनाङ मस्र्याङ्दी, आयोजक दमक–११, बागमती युथ क्लवका साथै भारतस्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको मानेभञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरुनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबारदेखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लबबीच खेल हुनेछ ।

खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदानमा पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु छ लाख ११ प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चौलागाईले जानकारी दिए । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २१ हजार दिइने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्