Logo

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा आउँछः मन्त्री चौधरी



काठमाडौं, ८ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए ।

“सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ”, उनले भने ।

यस्तै, उनले शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पु¥याउने प्रतिबद्धता जनाए । तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठूला ठूला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्दै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको सुनाए । मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो ।

सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरेका थिए । सो अवसरमा पानीसम्बन्धी चेतनामूलक गीत र लघुनाटकसमेत प्रस्तुत गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्