Logo

निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने



चितवन, ९ चैत । कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उनलाई चितवनमा सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो ।

उनले गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेका पूर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन लगाएका थिए । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गरेका पूर्जा भरतपुर महानगरपालिका–१ रामनगर निवासी हुन् । सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा जन्मनुभएका पूर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आएका छन् ।

बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उनले नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत रहेका थिए । उनका कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन् । रासस



प्रतिक्रिया दिनुहोस्