Logo

अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट सम्पन्न (फोटोफिचर)



काठमाडौं, १० चैत । भारतीय राजदूतावासले काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) सम्पन्न गरेको छ ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले कनेक्ट (इन) को तेस्रो संस्करणको संयुत्तरुपमा उद्घाटन गरेका थिए ।
यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको थियो ।

भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ । तीनवटा संस्करणहरु मार्फत नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ ।

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागीता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भए । अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरे ।

भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई आकांक्षा र महत्वकांक्षालाई उपलब्धिसँग जोडी भारत र नेपालमा आर्थिक उन्नति तथा विकासका नयाँ ढोका खोल्नु तेस्रो संस्करणको उद्देश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्