Logo

परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डाम्यो



काठमाडौं, १५ चैत । परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डामेको छ । यसरी डामिनेमा प्रा.डा. टेकनाथ ढकाल सहित सह–प्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, सह–प्रशासक इन्दिरा घिमिरे, तत्कालीन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे रहेका छन् ।

उनीहरु मध्य लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे हुन् ।

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकाल सहित ६ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज मुद्धा दायर गरेको हो ।

त्रि.वि. सेवा आयोगको कार्यालय बाट बिभिन्न पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको पुष्टि हुन आएको जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा उनीहरुमाथि तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी सहित मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्