Logo

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यकः मुख्यमन्त्री शाही



कर्णाली, १९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । “विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ”,उनले भने, “त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।”

मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्वतयारी र समयको सदुपयोग महत्वपूर्ण कुरो भएको जनाए । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे । कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्वतयारी लाग्न हरेकले समय र महत्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताए । गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीकारुपमा ग्रहण गरिने जनाए । रासस



प्रतिक्रिया दिनुहोस्