Logo

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन



काठमाडौं, २४ चैत । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गरेका छन् ।

चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गरेको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए । यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गरेका हुन् । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खानुभएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ ।

तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिएका थिए । सपनामा हारती माताले उहाँलाई पूजा आराधना गर्नु भनेपछि उनी सोही नामको माताका रुपमा देवीको पूजा आराधनामा लागेका हुन् । हारती माताले दर्शन दिनुअघि केही समय उनी बिरामी भएको पारिवारिक स्रोतले जनाएको छ ।

चैत्र नवरात्रका अवसरमा मन्दिर सञ्चालन समितिले त्यस स्थलमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको समेत आयोजना गरेको छ । महायज्ञमा रामानुजदास सन्तोाषजीले कथावाचन गरिरहनुभएको छ । महायज्ञ चैत २८ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माणस्थलका रुपमा घोषणा गरेको गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको जागेश्वरी मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनको भीड लाग्ने गरेको छ । सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल गोकर्णेश्वर उत्तरगया क्षेत्र प्राचीनकालदेखि नै सिद्धस्थलका रुपमा रहेकाले साधकका रुपमा माता अघि आएको बताउछन् ।

गोकर्णेश्वर महादेव मन्दिर रहेको यो क्षेत्र सिद्धस्थल भएकैले सरकारले शहीद स्मारक घोषणा गर्दा वनको २४ रोपनी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको थियो । धार्मिक क्षेत्रअन्तर्गत गोकर्णेश्वर र जागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको समेत अध्यक्ष रहेका सिग्देलले बताए । रासस



प्रतिक्रिया दिनुहोस्