Logo

नयाँ वर्षबाट बढ्ने भयो सार्वजनिक यातायातको भाडा



काठमाडौं, २६ चैत । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साथै ट्याक्सीको भाडा बढेको छ ।

पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १०÷१५ प्रतिशतले बढाएको थियो । संघले सरकारले भाडा बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको जनाइएको छ ।

वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने बताइएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ।

काठमाडौं उपत्यकामा भने ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा पुगेको छ।

साथै, सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ । रात्रिकालीन ट्याक्सीको भाडादर भने प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्