Logo

भाग्यमानी केसी १९ दिनका लागि कसरी बने आइजीपी ?



काठमाडौँ, १ वैशाख । पुष्पराम केसी ससस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आइजीपी) बनेका छन् । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आइजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकास पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औँ महानिरीक्षकमा बढुवा गरेको हो ।

खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरीक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउथे, तर सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकास हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।

सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आइजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ । आइजीका प्रतिष्पर्धीमा उनीसँगै ससस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक रामशरण पौडेल पनि थिए तर वरियताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उहाँहरु यही वैशाख १८ गते अवकाश लिँदै छन् ।

विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मीएका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौँको हात्तिगौडामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गर्नुभएका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणम्को झण्डामुनी रहेर सेवा दिन तल्लिन भए ।

विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । महानिरीक्षक केसीले सुकीर्तिमय राष्ट्रदिप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलङ्कारबाट विभूषित भएका छन् ।

केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालि सकेका छन् । उनले ससस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाकासाथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी कर्मचारीले आगामी दिनमासमेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाकासाथ चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल हुन केसीले अपेक्षा गरेका छन् । सङ्गठन सुदृढिकरणका लागि योजना प्रस्तुत गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाए । रासस



प्रतिक्रिया दिनुहोस्