Logo

जनता अग्रगमनकारी शक्तिका पक्षमा छन्ः जगन्नाथ खतिवडा



काठमाडौं, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उनले भने, “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन सक्नुपर्छ ।”

नेता खतिवडाले समाजवादी र नवउदारवादीको एकता र सहकार्यबाट संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव खतिवडाले देशमा समाजवादी आन्दोलन अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनविरुद्धको आन्दोलनबाट उक्त सङ्गठन उदय भएकाले यसले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज सन्तराम बिँडारीले निर्धारित समयमा चुनाव सम्पन्न भएपछि प्रतिगमनहरु किनारा लाग्ने हुँदा अब सङ्गठनमा आबद्ध पत्रकारलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्