Logo

कांग्रेस आफैंलाई धोका दिने पार्टी हो– सोमप्रसाद पाण्डे (भिडियोसहित)



काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन वाम एकताको विकल्प नरहेको बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पाण्डेले हालै सम्पनन्न निर्वाचनअघि पनि वाम एकता र वाम तालमेलका बारेमा छलफल भएपनि त्यो सम्भव नभएको र अब मुलुको आवश्यकता वाम एकता भएको बताएका हुन् ।

‘हामी यो निर्वाचन नहुँदैपनि वाम गठबन्धन गर्नुपर्छ, वाम एकता गर्नुपर्छ भनेर लागेका हौं । छलफल भएको हो तर त्यो सम्भव भएन । अहिले पनि यो मुलुकको आवश्यकता वाम एकता हो,’ उनले भने ।

साथै, गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा आफूलाई गठबन्धनभित्रैको दल नेपाली कांग्रेसले हराएको उनको आरोप छ । कांग्रेससँगको गठबन्धन रहरले नभएर आवश्यकताले बनेको उनले बताए । कांग्रेस आफैंलाई धोका दिने र आफैंलाई हराउने पार्टी भएको उनको दाबी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफ्नो पार्टी जाने सम्भावना बढेको उनले बताए ।अहिलेसम्म सरकारमा सहभागी हुने विषयमा भने पार्टीमा कुनै छलफल नभएको र आफ्नो व्यक्तिगत राय यो सरकारलाई विश्वासको मत दिनुपर्छ भन्ने भएको उनले बताए । जनता समाजवादी पार्टी र एकीकृत समाजवादीसँग एकताको लागि छलफल भइरहेको बताउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन वाम एकता हुनुको विकल्प नरहेको पाण्डेको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्