Logo

कांग्रेसको कर्तव्य अहिलेको व्यवस्था र संविधान जोगाउनु हो– रमेश लेखक (भिडियोसहित)



काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु प्रमुख प्रतिपक्षीको रुपमा रहँदै गर्दा संसदको प्रमुख तीन कार्यमध्ये सरकार निर्माणको काम भइसकेको र अब कानुन बनाउने र सरकारको काम कारबाहीको निरन्तर निगरानी गर्ने कार्यमा प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।

साथै, फरक प्रसंगमा उनले कांग्रेस पनि सरकारमा सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा असम्भव रहेको बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बनाउनु मिलिजुली देश ध्वस्त बनाउनु भएको उनको टिप्पणी छ । ‘निर्वाचन भएको दुई महिना भएको छैन । फेरि राष्ट्रिय सहमतिको सरकार बनाएर मध्यावधिमा जाउँ भन्नु मिलिजुली देश ध्वस्त पारौं भन्नु हो । कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । हाम्रो मूल कर्तव्य भनेको अहिलेको व्यवस्था र संविधान जोगाउने हो,’ उनले भने ।

साथै, अहिलेको व्यवस्था र संविधान तलमाथि हुने अवस्था सिर्जना भएमा कांग्रेसको खबरदारी हुने र त्यसका लागि आफूहरु तयार रहेको पनि उनले बताए ।कांग्रेसले देशमा समस्या आइपर्दा यसअघि पनि विकल्प दिएर नेतृत्व प्रदान गरेको स्मरण गर्दै देशमा भविष्यमा पनि त्यस्ता समस्या आएमा कांग्रेस नेतृत्व दिन तयार रहेको उनले बताए ।

पाँच दलीय गठबन्धन टुट्नुमा कांग्रेस मात्रै दोषी नभएको उनको दाबी छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलले मेरो नेतृत्वमा सरकार बन्नु पर्छ भन्नु कुनै गल्ति नभएको उनले बताए । राजनीतिमा सम्भावनाहरु आउने जाने भइरहने भएकाले आफूहरु पार्टीलाई यो भन्दा पनि बलियो ढंगले अगाडि बढाउन लागि रहेको उनले बताए । कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारलाई समर्थन गरेका दलबाट प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा आफूहरु वैकल्पिक सरकार निर्माणमा जानसक्ने सम्भावना कायमै रहेको उनले बताएका छन् । आगामी दिनमा आफूहरु सशक्त भूमिका साथ प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्