Logo

संसद् प्रमुख प्रतिपक्षीविहीन !



काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेसँगै अब संसद् प्रतिपक्षविहिन जस्तै भएको छ ।

योसँगै कांग्रेसले पुनः २०५१ सालको नजीरसमेत दाहोर्‍याएको छ । २०५१ सालमा कांग्रेसले तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीलाई विश्वासको मत दिएर सरकार जोगाइदिएको थियो भने अहिले प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएसँग प्रचण्ड प्रबलियो प्रधानमन्त्री बन्ने भएका छन् । मनमोहनलाई विश्वासको मत दिँदा कांग्रेसको सभापतिमा गिरिजाप्रसाद कोइराला थिए ।

यो संगै प्रचण्डलाई झण्डै २७० भन्दा बढी सांसदको समर्थन मिल्ने निश्चित भएको छ । अब प्रचण्ड दुई तिहाइ बहुमत भन्दा बढिको समर्थनप्राप्त प्रधानमन्त्रीको बन्ने छन् । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै संसद् प्रतिपक्षविहिन जस्तै भएको छ । अब प्रतिपक्षमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र स्वतन्त्र सांसद योगेन्द्र मण्डल मात्रै हुने छन् ।

पाँच दलीय सत्ता गठबन्धनका साथ निर्वाचनमा होमिएका प्रचण्ड सरकार गठनको अन्तिम समयमा कांग्रेससँगको गठबन्धन तोड्दै एमालेको समर्थनमा १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्