काठमाडौं, २७ पुष । नेकपा (माओवादी केन्द) का उपमहासचिव एवं पूर्व गृहमन्त्री शक्ति बस्नेतले प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरामा अल्मलिएको कांग्रेसले विश्वासको मत दिएर रियालाइज गरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस संसदको सबैभन्दा ठूलो दल बन्नुमा माओवादी केन्द्रको पनि हात रहेको र त्यो कांग्रेसले नबुझ्दा सत्ता गठबन्धन टुटेको बताए ।
‘कांग्रेसले माओवादीको नेतृत्वमा सरकार बनाउने कुरामा अल्मलिएको थियो । त्यो रियालाइज गर्यो । आज माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दियो,’ उनले भने ।साथै, दलीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्च स्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीलाई सुझाव दिने तर सुपर क्याविनेट संयन्त्र नभएको बताए । दलीय गठबन्धनको सरकारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको महत्वपूर्ण भूमिका हुने भएपनि यो सुपर क्याविनेट संयन्त्र नभएको र यसलाई संविधानले नचिन्ने उनको दाबी छ ।
‘गठबन्धनको सरकार चलिरहँदा यस्ता प्रकृतिका राजनीतिक संयन्त्रहरुको भूमिका महत्वपूर्ण हुन्छ । गठबन्धन एउटै घोषणापत्रबाट सञ्चालित नहुने कारणले पार्टीको नीतिगत र व्यवहारिक विषयको संयोजनमा संयन्त्रको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ भन्नेमा म सहमत छु । तर, दैनिक कार्यकारी भूमिकालाई यसले डिक्टेड गर्दैन,’ उनले भने ।
साथै, पृथ्वी जयन्तीको प्रसंगमा उनले भूगोलको एकीकरण हुँदैमा राजतन्त्रात्मक प्रणाली हुन नसक्ने बताए । एकीकरणको सवाल र राजनीतिक प्रणाली फरक भएको र पृथ्वी नारायण शाहकै नेतृत्वमा नेपाल एकीकरण भएमा फरक मत नरहेको उनले बताए । साथै, माओवादी राजतन्त्र फर्काउन चाहन्छ भन्नु असम्भव र काल्पनिक कुरा भएको उनको दाबी छ । कम्युनिष्टहरुको रणनीति साम्यवाद भएझै राष्ट्रिय प्रजातन्त्र पार्टीको रणनीति राजतन्त्र हुनु स्वभविक भएको उनको दाबी छ । नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैगर्दा कुनै सहमति नभएको पनि उनले खुलासा गरे । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई गरेको समर्थनलाई प्रतिपक्षको बार भत्काएर सरकारसँग गरिएको सहकार्यका रुपमा बुझ्न पनि उनको आग्रह छ ।
साथै, यसै हप्ता मन्त्रिपरिषदको विस्तार हुने उनले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने परम्परा २०५१ सालमै स्थापित भइसकेकाले कांग्रेस सरकारमा नगएर प्रतिपक्षमा बस्न मिल्ने उनको दाबी छ । साथै, प्रधानमन्त्री प्रचण्डलाई यो कार्यकाल चुनौति मात्रै नभएर अवसरको रुपमा रहेको उनको भनाइ छ ।
‘