Logo

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारी र कांग्रेसका रावलबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं, २८ पुष । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिममा आज सभामुखको लागि निर्वाचन हुने कार्यतालिका रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार नै मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। मनोनयन दर्ता गराएका भण्डारी र रावलमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएसँगै आज निर्वाचनबाट सभामुख चयन गर्न लागिएको हो । माओवादी केन्द्रका भण्डारीलाई सत्ता गठबन्धनका दल आफ्नो पार्टीसहित एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको साथ रहेको छ । एक स्वतन्त्र सांसद रहेको सुदूरपश्चिममा उनले कता मत दिने भन्ने निश्चित भएको छैन । सुदुरपश्चिमको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भइसकेका छन् ।

माओवादी केन्द्रका सांसद भण्डारीलाई सत्ता गठबन्धनको दलको समर्थन रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित छ । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद रहेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्