काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकले मुख्यमन्त्री जमकटेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिएको हो ।
कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताएअनुसार बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको हो ।
कूल ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीमा नियुक्त हुँदा जमकटेललाई सत्ता साझेदार दलका ७० सांसदको समर्थन थियो ।