काठमाडौं, ४ माघ । नेपाली कांग्रेसमा सभामुखको उम्मेदवार चयनमा सकस देखिएको छ । कांग्रेसको आज बसेको पदाधिकारी बैठकमा अम्बिका बस्नेत र ईश्वरी न्यौपानेको चर्चा चलेको छ । संस्थापन पक्षबाट बस्नेतलाई र संस्थापनइत्तर पक्षबाट न्यौपानेलाई उम्मेदवार अघि सारिएको हो । सभामुखको उम्मेदवार बारे कांग्रेसले अन्य दलसँग पनि छलफल जारी राखेको छ । पदाधिकारी बैठक लगत्तै अन्यदलसँग पनि उम्मेदवारका बारेमा छलफल भइरहेको बताइएको छ ।
पदाधिकारी बैठकले कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन नसकेपछि उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय लिन सकस भएको छ । सभामुखमा कांग्रेसले उम्मेदवारी दर्ता गराएर उपसभामुख भने अर्को पार्टीलाई दिने तयारी गरेको छ । सो विषयमा सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलसमेत गरिसकेका छन् । एकीकृत समाजवादीले सभामुखको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने एक केन्द्रीय सदस्यले बताए ।