Logo

सभामुख घिमिरेको पहिलो निर्णय : संसदीय अभ्यास र प्रकियासम्बन्धी अन्तर्क्रिया गर्ने



काठमाडौं, ६ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्दै नवनिर्वाचित सांसद्‍हरुका लागि संसदीय अभ्यास र प्रकियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेका छन्।

सभामुख भएपछि पहिलो निर्णयका रुपमा घिमिरेले नवनिर्वाचित सांसदसँग संसदीय अभ्यास र प्रक्रियासम्बन्धि अन्तर्क्रिया गर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ।

यस्तै, घिमिरेले पदभार ग्रहण गर्दै भने, ‘नयाँ संविधान बनेपछि संस्थाको एक पटक अभ्यास गरिसक्यौं। यसलाई नेपालीपनको हिसाबबाट अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने छ र त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त छु।’

बिहीबार प्रतिनिधि सभाको सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

 



प्रतिक्रिया दिनुहोस्