Logo

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ



एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मंगलबार नयाँ प्रतिबन्धहरुको घोषणा गरेका छन्।

मंगलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो सहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरुसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरेका छन्। जारी संकटमा संघीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो।

उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्यांकअनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ। आदिवासी समुदाय र कानुन प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरुसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए।

सोमबार र मंगलबार ‘टेकवे अल्कोहल-मुक्त दिनहरु’ हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजेबीचको अवधिमा मात्र हुनेछ।

मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरु हुन् र तिनीहरुलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताए।



प्रतिक्रिया दिनुहोस्