सर्लाही, १३ माघ । सर्लाहीको संसदीय निर्वाचन क्षेत्र ३ मा बुधबार देखिएको दुई दृष्यले जनतालाई सन्देश दिएको छ।
सोही क्षेत्रबाट चुनाव जितेर रक्षामन्त्री भएका हरी उप्रेती बुधबार सेनाको हेलिकप्टरमा सर्लाही पुगेर एउटा मेलाको उद्घाटन गरे भने उनीसँग निकटतम प्रतिस्पर्धी रहेका नरेन्द्र साहले विद्यालयहरुमा कापी र कलम वितरण गरेका छन्।
रक्षामन्त्री भएपछि सेनाले बनाइरहेको फास्ट ट्रयाकको निरीक्षण गर्न भनेर हेलिकप्टरमा निस्केका उप्रेती गृह जिल्ला पुगेका थिए। उनले मूर्तिया पुगेर मुक्तेश्वर महादेवको महोत्सवको उद्घाटन गरेका थिए। उनले मन्त्री भएको सान देखाइरहँदा चुनावमा हारेका साह भने सरस्वती पूजाको पूर्वसन्ध्या पारेर विद्यार्थीलाई पढ्न कापी र कलम बाँडेर सघाइरहेका थिए।
साहले आफूले चुनाव लडेको निर्वाचन क्षेत्रका सबै वडाका विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन्। बरहथवा, चक्रघट्टा, हेमपुरलगायतका विद्यालयमा कापी र कलम वितरण गरिएको हो। साहले आफ्नै श्रोतबाट ७५ हजार थान कापी र सोही परिमाणमा कलम वितरण गरेका हुन्।
साहले विद्यालय सुधारको योजना पनि विद्यालयलाई दिएका छन्। उचित शिक्षाबाट मात्र विकास सम्भव हुने भएकाले भविष्यका कर्णाधार विद्यार्थीलाई राम्रो पढ्ने वातावरण दिनुपर्ने साहको भनाई छ।
चक्रघट्टास्थित जनता माविका निमित्त प्रधानाध्यापक इन्द्रकान्त रायले कापी कलम वितरण गर्ने कार्य एकदमै सकारात्मक भएको बताए। ‘शिक्षा विकासको मेरुदण्ड भएकाले यसमा सबैको सहयोग हुन जरुरी छ,’ रायले भने, ‘राजनीतिक नेताबाट यसमा सहयोग हुँदा सबैको हौसला बढ्छ।’