Logo

ओलीजी पढेलेखेका र तर्क गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन भन्नुहुन्छ– रामनारायण बिडारी (भिडियोसहित)



काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई पनि सहभागी गराएर राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकार जनताको जनमत अनुसार बनेकाले कांग्रेसलाई पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सँगै लिएर जानसके मात्रै राजनीतिक स्थिरता कायम रहने बताएका हुन् ।

जनताको जनमत अनुसार अहिलेको सरकार धेरै दल मिलेर बनेको बताउँदै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो पनि नहुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहेजस्तो पनि नहुने बताए । अहिले एमाले अध्यक्ष ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधान र कानुनले नचिन्ने उनको दाबी छ । ओली आफैं प्रधानमन्त्री हुँदा प्रचण्ड नेतृत्वको संयन्त्रको प्रस्तावलाई संविधानले चिन्दैन भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले संयन्त्रको बारेमा राम्रोसँग छलफल गर्नुपर्ने बेला आएको टिप्पणी गरे ।

राष्ट्रपतिमा गैरराजनीतिक मान्छेलाई ल्याउन नहुने उनको अडान छ । गैरराजनीतिक मान्छे राष्ट्रपति बन्दा अराजक र विवादास्पद बन्ने बिडारीको दाबी छ । ‘गैर राजनीतिक मान्छेलाई राष्ट्रपति बनाउन हुँदैन । त्यो झन अराजक र विवादास्पद बन्छ । राजनीतिक मान्छेबाटै राष्ट्रपति बनाउनु पर्छ, बन्छ,’ उनले भने ।

राष्ट्रपतिमा एमाले अध्यक्ष ओलीले शिक्षित मान्छे नचाहेर आफू अनुकूलको मान्छे खोजेको उनको आरोप छ । ‘अलिकति जान्ने, तर्क गर्ने, पढेलेखेको मान्छे राष्ट्रपति बनाउन हुँदैन भन्ने मान्यतामा ओलीजी रहनु भएको छ । उहाँको तर्क छ- पढेलेखेको मान्छे, पिएचडी गरेको मान्छे, एलएलएम गरेको मान्छे, विदेशमा गएर पढेको मान्छेसँग बुद्धि हुँदैन भनेर  । उहाँले मसँग भन्नु भएको छ- यिनीहरुको दिमागमा गन्जागोल हुन्छ । यिनीहरुको दिमागले के गर्ने भनेर ठहर्‍याउँदैन । त्यसकारणले उहाँलाई चाहिएको ट्याक्क भनेपछि ठ्याक्क गर्ने, ह्वाइ नभन्ने मान्छे चाहिएको छ । किन भनेर प्रश्न नगर्ने मान्छे पाए हुन्थ्यो भन्ने उहाँको भित्री मनमा छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको बिन्दुमा जानसक्ने, सबैसँग घुलमिल हुनसक्ने साझा व्यक्तित्वको पक्षमा रहेको उनले बताए । बाबुराम भट्टराई राष्ट्रपतिको लागि योग्य मान्छे भएको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्