काठमाडौं, २० माघ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले उजुरी दिँदैमा राजनीतिक दल खारेजी गर्न नमिल्ने बताएका छन् । आज(शुक्रबार) पत्रकारहरुसँगको छलफलमा आयुक्त थपलियाले रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उजुरीको आधारमा पार्टी खारेज नहुने बताएका हुन् ।
राजनीति गर्ने मान्छे राष्ट्र र जनताप्रति बफादार हुनुपर्ने उनको भनाइ छ । राजनीतिज्ञले फर्जि र झुठा विवरण पेश गर्न नहुने उनले बताए ।
रबि लामिछाने सभापति रहेको रास्वपा खारेजीको माग गर्दै युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिएका छन् । रबिले विदेशी नागरिकता परित्याग गरी नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरी राजनीतिक दल दर्ता गरेको र त्यसरी दर्ता भएको दल खारेजी हुनुपर्ने माग सहित उजुरी परेको छ ।