काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताएका हुन् । ‘स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौं । स्वास्थ्य क्षेत्रमा धेरै विसङ्गति र विकृति छन् । त्यसलाई हटाउन हामी डटेर लाग्छौं । स्वास्थ्य क्षेत्रमा अधिकतम् सुधार गरेर परिवर्तन गरिने छ,’ मन्त्री गिरीले भने । मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउनसमेत आग्रह गरे । गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन्त्रालय लागि परेको उनले उल्लेख गरे ।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पु¥याउनका लागि लागिपरेको बताइन् । यस्तै, सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनुपर्ने उल्लेख गरिन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले विभागले जनतालाई कसरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले जनातको स्वास्थ्यबारे खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले स्वास्थ्य बीमा प्रभावकारीरुपमा कार्यान्वयन गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याइरहेको बताए । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारको दक्षता अभिवृद्धिमा जोड दिए । उक्त अवसरमा मञ्चका सदस्यसमेत रहेकी निशा डाँगी सांसदमा निर्वाचित भएकामा बधाइ ज्ञापन गरिएको थियो भने मञ्चका सदस्य भगवती तिमिल्सेनालाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।