Logo

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी



काठमाडौं, २२ माघ। राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी आयोजना गरेको छ । धनगढीमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताए ।

‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ,’ उनले भने ।

त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका नेपाली सांस्कृतिक परिषद्का महासचिव हर्क स्वाँरले नेपाल–भारतको संस्कृति मिल्दोजुल्दो रहेको बताए । उनले भने– ‘विकास क्षेत्रमा नेपाल–भारत सहकार्य अतिआवश्यक छ, यसले दुवै देशलाई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक हिसाबले मुजबुत बनाउँछ ।’

त्यस्तै कार्यक्रममा सहभागी ल्यान्स कलबका अध्यक्ष सीबी चन्द, नेपाल पत्रकार महासंघका सदस्य प्रेम चौधरी र वरिष्ठ पत्रकार कर्ण शाहले नेपाल–भारत मित्रतालाई जोड दिँदै दुवै देशका सरकार मिलेर अघि बढ्नु पर्ने बताएका थिए।
कार्यक्रमका सञ्चालन शिव थापाले गरेका थिए ।

त्यस्तै राजविराजमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामकुमार यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिए । उनले भने– ‘नेपाल–भारतबीच रोटी बेटीको सम्बन्ध छ, जसले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाएको छ, नेपालको आर्थिक विकासमा भारतको ठुलो योगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियान सप्तरीका सल्लाहकार अधिवक्ता सागर वीर कडारिले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय एकता अभियान सप्तरीकी जिल्ला संयोजक सुनिता चौधरीले पनि नेपाल–भारतको सम्बन्धको बारेमा चर्चा गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्