काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्कीमा आएको विनासकारी भूकम्पमा परी निधन भएकाहरु प्रति दुःख व्यक्त गरेका छन् । सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी दुई सय जनाभन्दा बढीको निधन भएको र एक हजार भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र नेपाली जनताको तर्फबाट दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । ‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन् ।