काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रममा छलफल हुने जनाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागीता रहेको छ।
गत आइतबार मात्र सरकारबाट बाहिरिएको रास्वपा पनि बैठकमा सहभागी भएको हो । रास्वपाका सभापति रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गरी रबिले आफूलाई गैरसांसदको रुपमा पुनः गृहमन्त्रालयको जिम्मा दिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक नभएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । रास्वपाले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।