Logo

कांग्रेस सहमहामन्त्री पाण्डेको खुलासा– ‘एमालेको उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना छैन’



काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनको औचित्य नभएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं राष्ट्रपतिको निर्वाचनमा कांग्रेससहितको राष्ट्रिय सहमतिको प्रयासमा रहेको भन्दै उनले सत्ता गठबन्धनले राष्ट्रपतिको निर्वाचनलाई प्रभाव पार्न नसक्ने बताएका हुन् ।

‘बहुमत कसैसँग पनि छैन । अल्पमतमा रहेकामध्ये सबैभन्दा ठूलो दल हामी हौं । त्यसैले तुलनात्मक रुपमा बलियो दावा हामीहरुको नै रहन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँहरु (सत्ता गठबन्धनका दल) एक ठाउँमा उभिनु भयो । अबको राजनीतिक परिदृष्य परिवर्तन भएको हामीले देखिराखेका छौं । प्रचण्ड स्वयंले कांग्रेससमेतको सहभागितामा राष्ट्रिय सहमतिको वातावरण बन्छ । त्यो दृष्टिकोणबाट राष्ट्रिय सहमतिको वातावरण बनाउनु पर्छ भन्ने अभिव्यक्ति माओवादीबाट आएपछि सरकार जोगाउने सन्दर्भमा यो सत्ता गठबन्धन छ । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धन विघटनको अवस्थामा छ,’ उनले भने ।

गत पुष १० मा प्रचण्ड प्रधानमन्त्री बनेको परिवेश पुष २६ मा विश्वासको मत लिँदैगर्दा परिवर्तन भएको उनको दाबी छ । प्रचण्डको जिम्मेवारी अब पुष १० मात्रैमा नभएर पुष २६ प्रति पनि रहेको उनले बताएका छन् । अहिलेको राजनीतिक परिदृष्यले एमालेले उम्मेदवार बनाएको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना न्यून रहेको उनको दाबी छ । ‘प्रचण्डको अभिव्यक्ति र माओवादीको स्थायी कमिटीमा भएको छलफलबाट पनि हामी अनुमान गर्न सक्छौं कि एमालेको प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना न्यून छ । राष्ट्रपति बन्ने स्थिति छैन,’ उनले भने ।

प्रधानमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिएको र आफैं राष्ट्रिय सहमतिको छलफलमा रहेकाले कांग्रेसले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई साथ दिने उनको दाबी छ । ‘हामीले पनि प्रचण्डलाई विश्वासको मत दिएका छौं । विश्वासको मत मात्रै दिएका छैनौं, हामीले उहाँलाई मत पनि दिएका छौं । उहाँ आफैं यतिखेर देशको राजनीतिलाई सन्तुलनमा ल्याउन राष्ट्रिय सहमतिको वातावरण बनोस् र राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित बन्यो भने शक्ति सन्तुलनको स्थिति पैदा हुन्छ भन्ने पनि उहाँले बुझ्नु भएको छ । उहाँले अहिलेको सत्ता गठबन्धनमा एक प्रकारको उकुसमुकुस अनुभूति गरिरहनु भएको हामीले पाएका छौं । राष्ट्रपतिको निर्वाचन पेचिलो र भिन्न परिणाम दिने खाल्को नहोला भन्न सकिन्न,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्