Logo

व्यवसायी चर्को व्याजको मारमा छन्, सरकारले पीडा बुझेन– रामकृष्ण श्रेष्ठ



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए । सझौंला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उनको आरोप छ । ‘मझौला र साना खाल्का उद्यमी व्यवसायीहरु जसले बैंकको सर्पोटबाट आफ्नो उद्यम सञ्चालन गरिरहनु भएको छ । कोभिड–१९ पछाडि देशको अर्थतन्त्र धरासायी भएको छ । अर्थतन्त्र धराशयी भएको सन्दर्भमा व्यवसायीले आफ्नो व्यवसायलाई पुनर्जीवन दिन नसकिरहेको अवस्थामा बैकले एकतर्फी रुपमा विना छलफल, आवश्यकता पनि नभएको बेलामा व्याजदर बढाएको छ । जसको मारका लाखौं लाख व्यवसायी परेका छन,’उनले भने । व्यवसायीलाई धरासायी बनाएको अवस्थामा देशका जनशक्ति विदेशिने अवस्था आएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्