Logo

बैंक तथा वित्तीय संस्थाले व्याजदर दोब्बर बनाउँदा पनि सरकार मौन भयो– मोहन कटुवाल



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेत्र साना व्यवसायी भएको उनको दाबी छ । कोभिडको महामारीबाट तङ्ग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको उनले बताए । आफूहरुले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उनको आरोप छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण कयौं उद्योग बन्द हुने अवस्थामा रहेको भन्दै उनले बैंक तथा वित्तीय संस्थाबीच सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे ।

‘कसैले नियतवश बैंकलाई व्याज नतिर्ने, बैकलाई धरासायी बनाउने नियत राखे कारबाही गर्नुस् । एउटा ठूलो उद्योगले लिएको ऋणले सय वटा उद्योगलाई दिन पुग्छ । साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले कदम चाल्नैपर्छ । यस्तो कठिन अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको नाफा कयौं गुणा छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको समाजिक उत्तरदायित्व पनि हुन्छ । हामीलाई सडकमा आउने वातावरण नबनाइयोस्,’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्