Logo

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनयुद्धकै योगदान हो– माओवादी सचिव पाण्डे



काठमाडौं, १ फाल्गुन । नेकपा (माओवादी केन्द्र) का सचिव हितराज पाण्डेले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धी जनयुद्धको योगदान भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको व्यवस्था र उपलब्धीमा नेपाली जनता, सहिद, घाइते र अपाङ्ग योद्धाहरु र जनमुक्ति सेनाको विशेष योगदान रहेको बताएका हुन् ।

‘हामीले २०५२ साल फागुण १ गते जनयुद्धको सुरुवात गर्यांै । त्यसैको जगमा हामी अहिले यहाँसम्म आइपुगेका छौं । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धीहरुमा जनयुद्धका महान सहिदहरु, बेपत्ता योद्धाहरु, जनआन्दोलन र मधेश आन्दोलन र नेपाली जनताको विशेष योगदान छ,’ उनले भने ।

जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिन गरेको निर्णयको प्रसंशा गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष योगदान रहेको बताए । जनयुद्धको पृष्ठभूमिलाई बुझ्न र त्यसको सम्मानका लागि सरकारले विदा दिएको उनको दाबी छ ।‘जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा किन दिइयो भन्दा २०५२ साल फागुन १ गतेदेखि २०६३ सालसम्म भएका ती १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको पृष्ठभूमिमा पुग्नुपर्छ । जब हामी त्यसको पृष्ठभूमिमा पुग्छौं । त्यपछि मात्रै जनयृद्ध दिवसमा बिदा किन दियो भन्ने थाहा हुन्छ । जनयुद्धकै कारण राष्ट्रले संघीयता लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको हो । त्यसका लागि १० औं हजार सहिदहरुले बलिदानी दिएका छन् । हजारौँ बेपत्ता भएका र कयौं घाइतेहरु छन् । ती सबैको बलिदानले गर्दा अहिले हामी यहाँ आइपुगेका छौं । यसले हाम्रो देशमा राजनीतिक चेतनाको वृद्धि गराएको छ,’ उनले भने ।

नेपाली जनताको जनजिविका, राष्ट्रियता, जनतन्त्रको सवालमा मुद्धा उठाएर आफूहरुले जनयुद्धको घोषणा गरेको उनको दाबी छ । जनयुद्धको घोषणा भएको दिन २०५२ फागुन १ मा आफू पनि सहभागी भएको स्मरण गर्दे उनले जनयुद्धको उद्देश्य हत्या, मारपिट र नभएको बताए । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको साहदात पछि आफूहरु राज्य व्यवस्थाप्रति हतियार उठाउन बाध्य भएको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्