Logo

सार्वजनिक विदालाई लिएर प्रधानमन्त्री प्रचण्डको व्यापक आलोचना



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरका देशभर सार्वजनिक विदा दिएको छ । केही दिनअघिको सचिवस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक विदा धेरै भएको भन्दै विदा कटौतीका लागि ब्रिफिङ गरेका थिए । सार्वजनिक विदा कटौतिका लागि ब्रिफिङ गरेको केही दिनपछि जनयुद्ध दिवसमा दिइएको विदालाई लिएर प्रधानमन्त्री प्रचण्डको व्यापक आलोचना भएको छ ।

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयबारे टिप्पणी गर्दै नेकपा (एमाले) का युवा नेता विष्णु रिजाल लेख्छन् ‘सरकारको काम समाजलाई विभाजित गर्ने होइन, जोड्ने हो । माओवादीको न संसदमा बहुमत छ न सरकारमा । उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ । त्यसैले ११ ले ८९ प्रतिशतमाथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन । अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ ।’

त्यसैगरी एमालेका अर्का प्रभावशाली नेता गोकुल बास्कोटाले प्रधानमन्त्री प्रचण्डले पूर्व देखाएर पश्चिम हानेको व्याङ्ग्य गरेका छन् । जनयुद्ध दिवसमा प्रचण्डले विदा दिएर मौकामा हिरा फोरेको उनको टिप्पणी छ ।
उनले सामाजिक सञ्जालमा आफ्नो धारणा लेखेका छन्– ‘अस्तिसम्म विदा बढी भो भन्थे– प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’

एमाले महासचिव शंकर पोख्रेलले पनि जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक विदामाथि प्रश्न उठाएका छन् । उनले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलव्धि भनेको नै गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ? भन्दै प्रश्न गरेका छन् ।

एमालेका अर्का युवा नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिईएकोबारे आलोचना गरेका छन् । उनले जनयुद्धलाई नै नक्कली भनेका छन् । थापाले जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै भएको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले लेखेका छन्–‘आजको दिन म आफ्ना जेठा दाजु कृष्णबहादुर थापालाई सम्झँदै हृदयदेखि नै सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दछु। र, उहाँसँगै अनाहकमा जीवन गुमाउन बाध्य १७ हजार जना नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैप्रति पनि श्रद्धासुमन अर्पण गर्न चाहन्छु। २०५२ साल फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष मात्रै थियोे। जनताको सहभागिता र इच्छामा नभएर भयदोहन, आतंक र हत्या हिंसा थियोे । यदि जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन ! त्यसमा सहभागी भएर बलिदान हुने, घाइते र अपांग भएर जीवन बिताउन बाध्य योद्धा र बेपत्ता पारिएकाहरूप्रति सम्मान नै छ, जसले क्रान्तिको रूमानी सपनाका खातिर आफ्नो सर्वस्व गुमाउन र जीवन नै समर्पित गर्न तयार भए। तर तिनका सपनाको व्यापार गर्दै धोका र विश्वासघात त तिनले गरिरहेका छन्, जो नक्कली जनयुद्ध दिवसका नाममा तिनका उदात्त सपनाको सौदाबाजी गरिरहेका छन् ! व्यवहारमा चाहिँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह नै बदल्ने प्रस्तावसहित विमाओकरण हुँदै सशस्त्र संघर्षका बाँकीबक्यौता विरासत र अवशेषप्रति नै निर्णायक तथा अन्तिम सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् ! खासमा जनयुद्ध दिवस होइन, यो विरोधाभाष र मजाकको अभ्यास मात्रै हो । जनयुद्धको कार्यदिशा परित्याग गरेको झण्डै डेढ दशकपछि सरकारीस्तरमा जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै हो।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनुलाई निभ्न लागेको दियोसँग तुलना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्‘ निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ ! नेपालीले नेपाली मारेकोमा ‘दिवस’ मनाउने ?’ माओवादी युद्धको क्रममा मारिएका लम्जुङका शिक्षक मुक्तिनाथ अधिकारीको तस्वित पोष्ट गर्दै उनले लुकेर मान्छे मार्नुलाई जनयुद्ध भन्न नमिल्ने बताएका छन् । जनयुद्धको नाममा सार्वजनिक विदा दिएर सरकारले गलत भाष्य निर्माण गर्न खोजेको उनको आरोप छ । २०४६,२०६२/६३ कोलाई जनआन्दोलन भन्न मिल्छ , जतिबेला लाखौं सडकमा निस्किए। ४ /५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले नचिनेको जनयुद्ध दिवसमा सर्वाजनिक विदा दिएको भन्दै टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डको यो कदमले देश कता जाँदै छ भन्ने चिन्ता बढाएको उनको बुझाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

कांग्रेसका अर्का नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले जनयुद्ध दिवसलाई कथित दिवसको संज्ञा दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारले बृहत्त शान्ति सम्झौता र संविधानविपरित जनयुद्ध दिवस घोषणा गरेको भन्दै यसमा कांग्रेसको आधिकारिक धारणा कहिले आउँछ ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन्- ‘एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित “जनयुद्ध दिवस” बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछिरु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू। सम्झनाकालागि–नेपाली काङ्ग्रेसको सभापति श्री गिरिजा प्र कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ। माओवादी, एमाले अहिलेको एकिकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो।’



प्रतिक्रिया दिनुहोस्