काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध दिवस नेपाली राजनीतिक आन्दोलनको गौरवपूर्ण इतिहास भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै महासचिव विप्लवले यस जनयुद्धको क्षणलाई नेपाली जनताले सुखद् र गौरवको रुपमा स्मरण गरिरहने बताएका हुन् । ‘जनयुद्ध दिवस नेपाली राजनीतिक आन्दोलनमा एउटा गौरवपूण विशेषता बोकेको दिवस हो । यसलाई नेपाली जनताले सधै सुखद् र गौरवको रुपमा स्मरण गरिरहन्छन् । यस क्षणमा म सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । बेपत्ताहरुलाई स्मरण गर्न चाहन्छु । घाइतेहरुलाई सम्मान गर्न चाहन्छु । बन्दी कम्रेडहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।
जनयुद्धले सामन्तवादको उत्पीडनमा रहेका किसान, मजदूर, श्रमिक समुदाय, महिला, मधेशी, मुस्लिम, जनजाति, श्रमिक वर्ग, उत्पीडित क्षेत्र सबैलाई केही हदसम्म मुक्त गराएको उनले बताए । ‘जनयुद्धले हामीलाई समान्तवादको प्रभुत्व र उत्पीडनबाट मुक्त गरेको छ । किसान, मजदूर, श्रमिक समुदाय, महिला, मधेशी, मुस्लिम, जनजाति, श्रमिक वर्ग, उत्पीडित क्षेत्र सबैलाई उत्पीडनबाट एक हदसम्म मुक्त गरेको छ । चेतना निर्माण र अधिकार प्राप्तिको हिसाबले केही कदम अगाडि बढाएको छ,’ उनले भने ।
आफूहरुले जनयुद्धबाट नौलो जनवादी राज्यसत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्न चाहेपनि त्यसमा सफल हुन नसकेको उनको स्विकारोक्ति छ । ‘हामीले जनयुद्धबाट नौलो जनवादी राज्यसत्ता स्थापना गर्न चाहन्थ्यौं । वैज्ञानिक समाजवादतिर बढ्न चाहन्थ्यौं । तर, त्यसमा हामी सफल हुन सकेनौं । खासगरी भूमण्डलीकृत सम्राज्यवाद, दलाल पुँजीवाद, कम्युनिष्ट आन्दोलनका संसदनवाद, आत्मसमर्पणवादजस्ता प्रवृत्तिहरुको साठगाँठ या उनीहरुबीचको सौदाबाजीले नौलो जनवादी राज्यसत्ता स्थापना गर्ने हाम्रो चाहना अधुरै रह्यो,’ उनले भनेका छन् ।