Logo

तराईमा मिटर व्याज, पहाडमा लघुवित्त र सहरमा बैंकको आतङ्क छ– विप्लव



काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अहिले लाखौं जनता एक छाक खान र बस्नका लागि तड्पिनु परेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले तराईमा मिटर व्याजी, पहाडमा लघुवित्त र सहरमा बैंक तथा वित्तिय संस्थाको आतंकबाट नागरिकहरु तड्पनु परेको बताएका हुन् ।

‘आज पनि एक छाक खान, एक आङ लगाउन र बस्ने बासका निम्ती लाखौंलाख जनता तड्पिरहेका छन् । सामान्य रोजगारी नपाएर कलेज र विश्वविद्यालय अध्ययन गरेका युवा बेरोजगार छन् । विदेश पलायन हुन बाध्य छन् । तराईमा मिटर व्याजको आतंक छ । पहाडमा लघुवित्त र सहरमा विभिन्न खाल्का सहकारी र बैंकको चर्को व्याजबाट नागरिकहरु छट्पटाइरहेका छन्,’ उनले भनेका छन् ।

अहिलेको परिस्थितिले केही गरौं भन्ने मध्यमवर्गका व्यवसायीहरु थलापर्ने अवस्था आएको उनको बुझाइ छ । यस परिस्थितिले कयौंको घरबास उठिबास लागेको उनले बताए । पीडा सहन नसकेर हजारौं नागरिक आत्मदाह र मृत्यु बरणको अवस्थामा पुग्न लागेको उनको दाबी छ । नागरिकहरु चरम पीडामा हुँदा पनि राज्यसत्ता कुर्सीको भागबण्डामा व्यस्त रहेको उनको टिप्पणी छ । सत्तासिनहरुले जनताको समस्यालाई अपव्याख्या गरेर उल्टो प्रचार गरेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्