काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् विश्वप्रकाश शर्माले आत्महत्याको पीडा परिवारका लागि बेहिसाब रहने बताएका छन् । शर्माले आज (बुधबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै आफू गत माघ १० गते बानेश्वरमा आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको घर पुगेर आएको बताउँदै सरकारले आत्महत्या रोक्न पहल थाल्नुपर्ने बताएका हुन् ।
‘म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा । माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ । नेपाल प्रहरीको तथ्यांक भन्छ –आत्महत्याको दर यो दशकमा ७८ प्रतिशतले वृद्धि भएको छ । सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु । भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ,’उनले भने ।
मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण रहेको उनको बुझाइ छ । असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य भएको भन्दै उनले यसतर्फ गम्भीर बन्न संसद्को ध्यानाकर्षण गराएका छन् ।
‘मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण निस्चय नै हुन् । तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ,’ उनले भने ।
राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यमा गम्भीर राष्ट्रिय विमर्शका लागि उनले आग्रह गरेका छन् ।