Logo

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार जनताको अवस्था बढल्न र समृद्धिको यात्रालाई तीब्रता दिन प्रतिवद्ध रहेको बताएका हुन् । ‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसंकल्पित छ । सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आवद्ध चिकित्सकहरू, कर्मचारीहरू र आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरूरी छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्ने सबै दीक्षितहरुलाई बधाई तथा निरन्तर सफलताको शुभकामना दिएका छन् । साथै, वर्तमान सरकार स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयनका लागि प्रतिवद्ध रहेको उनले बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधनको पूर्णपाठः

५ फाल्गुण २०७९

दीक्षान्त समारोहका सभापति ज्यू,
उपस्थित विशिष्ट अतिथिज्यूहरू,
अतिथिज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सहभागी भई प्रतिष्ठानको कुलपतिको हैसियतले तपाईंहरूसामु आफ्नो विचार राख्न पाउँदा म हर्षित् छु । सर्वप्रथम प्रतिष्ठानको तेस्रो दिक्षान्त समारोहको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दै यहाँहरू सबैमा बधाइ ज्ञापन गर्दछु । साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्नुहुने सबै दीक्षित महानुभावहरूलाई हार्दिक बधाइका साथ निरन्तर सफलताको कामना गर्दछु ।

प्रतिष्ठानबाट दीक्षित हुनुहुने तपाईहरूका लागि आजको दिन खुसी र विशेष गौरवका दिन हो । व्यक्तिगत जीवनका दृष्टिले, सामाजिक उत्तरदायित्वका दृष्टिले, राष्ट्र निर्माणको गुरूत्तर जिम्मेवारीका दृष्टिले आजको दिन तपाईहरूका लागि अविस्मरणीय दिन हो । आजको दिन आफ्नो भविष्य एवं देश र जनताप्रतिको उत्तरदायित्वमा थप संकल्प र अठोट गर्ने दिन हो । तपाईहरूले जुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसभित्र यहाँहरूको लक्ष्यप्रतिको दृढता, लगनशीलता, अनुशासन र समाज एवं राष्ट्रका निम्ति केही गरिछाड्ने संकल्प लुकेको छ । त्यही मेहेनत र संकल्पको जगमा नै तपाईहरू दीक्षित हुने ऐतिहासिक क्षणमा हुनुहुन्छ । यो यहाँहरूको लागि मात्र नभएर हामी सबैका लागि प्रेरणादायी र गौरवपूर्ण छ ।
विश्वविख्यात भनाइ छ– सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, बरू सपना त्यो हो जसले निदाउनै दिँदैन । हामीले वर्तमानको सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउने कि वर्तमानमा मेहेनत र संघर्षका बलमा सुखद् भविष्यको निर्माण गर्ने रु यो छनोटको अधिकार तपाई–हाम्रो हातमै छ । समाज, राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई ठीक ढंगले बुझ्दा हाम्रो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत निरन्तर प्रगति भइरहेको हुन्छ । यो यथार्थलाई जसले ठीक ढंगले बुझ्दछ, जीवनको सार्थकता त्यसले नै सिद्ध गर्न सक्दछ । तसर्थ, हामी सबैको छनोट दूरदृष्टिका साथ भविष्य निर्माणको दिशामा केन्द्रित हुनुपर्दछ । यसले मात्र दीक्षित हुनुको महत्व र गौरव प्रमाणित गर्दछ ।

प्रसिद्ध भनाइ छ ‘अग्रजहरू र शिक्षकहरूले बाटो देखाउने हो, हिड्ने जिम्मेवारी स्वयं आफ्नै हो ।” चिकित्सा विज्ञान प्रतिष्ठानले तपाईंलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गरेको छ, भविष्यको आधारशिला खडा गरिदिएको छ । तर, तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र अनुभवलाई यस समाजमा सकारात्मक परिवर्तन ल्याउन र जनाताको सेवालाई विस्तार र विकासमा योगदान पु¥याउने जिम्मेवारी तपाईहरू स्वयंको हो । तपाईहरू स्वयं जिम्मेवार, सक्रिय, जिज्ञासु र कर्तव्यनिष्ठ भएर मात्र दीक्षान्त समारोहले कोरेको मार्गमा अगाडि बढ्न र निरन्तर सफलता हासिल गर्न सक्नुहुनेछ ।

मेडिकल स्कुल स्थापना गरी कम्पाउण्डर र ड्रेसरमार्फत् देशभरि स्वास्थ्य सेवा दिन सफल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको यस वीरले आफ्नो उत्पादनमार्फत देशका विभिन्न ठाउँमा विशेषज्ञ सेवा पु¥याउन सफल भएको छ । यो आफै महत्वपूर्ण छ । नेपाल सरकारको सेवामा रहेका ५०० भन्दा बढी चिकित्सकहरूले यसै संस्थामार्फत् विशेषज्ञता र अति विशेषज्ञताको उपाधि प्राप्त गरी स्वास्थ्य सेवामा योगदान पु¥याएको र धेरै संख्यामा नर्सिङ सेवामा पनि  महिला तथा बाल स्वास्थ्यमा दक्षता हासिल गरी सेवा दिएको जानकारी पाउँदा म थप उत्साहित भएको छु । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर राखी स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान र चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पु¥याएको योगदान महत्वपूर्ण छ । प्रतिष्ठानले यस क्षेत्रमा थप परिस्करणसहित निरन्तरताको अपेक्षा गर्दै नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

अस्पतालहरूलाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन । यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरेको छ । यसलाई निरन्तरता दिँदै सरकारी अस्पतालहरूलाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रको रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा यहाँहरू सबैको सहयोग र प्रतिवद्धता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह, जनशक्ति उत्पादन र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आए पनि सेवाग्राहीको चाप र विकसित नयाँ परिस्थितिका सामु त्यो पर्याप्त देखिँदैन । सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीहरूको चुस्तदुरूस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेशागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरूपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमि रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारहरू हाम्रा लागि गम्भीर विषयहरू हुन् । यस्ता बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।

वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसंकल्पित छ । सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आवद्ध चिकित्सकहरू, कर्मचारीहरू र आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरूरी छ । २०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको संकल्प गरेको छ । संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ । वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको विषय पनि म यहाँहरू सबैलाई अवगत गराउँछु ।

आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्वोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्नेगरि अगाडि बढ्ने अपेक्षा र निर्देशनसहित आफ्नो भनाइ टुंगाउँछु, धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्