एजेन्सी । इन्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।
जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार र सडकहरूका साथै १६ भन्दा बढी उपजिल्लाका घरहरू डुबानमा पारेको छ जसका कारण लगभग २२ हजार बासिन्दाहरू प्रभावित भएका छन्। यद्यपि बाढीबाट हताहतीको विवरण भने आएको छैन। तर सम्भावित जोखिमका कारण झण्डै चार हजार बाढीपीडितलाई त्रिपाल टाँगेर उच्च स्थानमा सारिएको छ।
स्थानीय अधिकारीहरूले सङ्कटमा परेका स्थानीय जनताहरूलाई सहयोग गर्न लागिपरिरहेको र उद्धार कार्य एवं आपतकालीन राहत कार्यहरूलाई पनि तीव्रता दिएको जनाएका छन्।
इन्डोनेसिया अझै वर्षाको मौसम जारी छ। यहाँ प्रायः बाढी र पहिरोबाट जोखिम र धनजनको क्षति हुने गरेको छ। रासस