Logo

दिनेश त्रिपाठीको खुलासा-‘प्रचण्डलाई विदाई गर्ने ओलीजीको हिडेन इन्ट्रेस्ट छ’



काठमाडौं, ७ फागुन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिलेको राजनीतिक दलहरु राष्ट्रपतिको विषयलाई लिएर त्रासमा रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले राजनीतिक दललाई थप सजग गराएको बताएका हुन् । ‘अहिले जुन संसद्को र प्रादेशिक संरचनाको बनोट छ, त्यसमा कुनै एउटा राजनीतिक दलले चाँहदैमा उसको राष्ट्रपति बन्न सक्दैन । यो सहमतिको खोजी गर्नुपर्यो । राजनीतिक दलहरु एउटा मनोवैज्ञानिक त्रासमा छन् । वर्तमान राष्ट्रपतिले आफ्नो कार्यकालमा संविधान ड्यामेज गराउनु भयो । संविधान नै मुर्छा पर्यो । कोमामा पुर्याउनु भयो । गैरसंवैधानिक ढंगले संसद् नै विघटन भयो । गैरसंवैधानिक ढंगले अध्यादेशहरु जारी भयो । जसका कारण सबै राजनीतिक दलहरु अहिले त्रासमा छन्, गलत व्यक्ति राष्ट्रपति भयो भने संविधान समाप्त हुन्छ,’ उनले भने ।

संविधानले संवैधानिक राष्ट्रपतिको परिकल्पना गरेपनि वर्तमान राष्ट्रपति भण्डारीले कार्यकारीको भूमिका निर्वाह गर्न खोजेको उनको आरोप छ । ‘अहिलेको संविधानले सेरोमोनियल राष्ट्रपतिको परिकल्पना गर्यो तर वर्तमान राष्ट्रपतिले कार्यकारीको भूमिका खेल्नुभयो । सिंहदरबारबाट पावर शीतल निवासमा सिफ्ट भयो । उहाँले कार्यकारी राष्ट्रपतिको जस्तो भूमिका निर्वाह गर्नुभयो । संसद्लाई अन्डरमाइन गर्नुभयो। कार्यपालिकालाई अन्डरमाइन गर्नुभयो । जसले गर्दा यो संवैधानिक प्रणली नै गम्भीर जोखिममा पर्यो,’ उनले भने ।

अहिले एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउँदा सबैमा एकप्रकारको मनोवैज्ञानिक त्रास बढ्ने उनको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बनाएर प्रधानमन्त्रीको रुपमा रहेको प्रचण्डलाई समेत विदाइ गर्ने भित्री तयारीमा रहेकोसमेत उनले खुलासा गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आफ्नै पार्टीबाट बनाएर राज्य नै कब्जा गर्ने एमालेको नियत रहेको उनको आरोप छ ।‘अहिले एमालेको व्यक्ति राष्ट्रपति बनाउँदाखेरि सबैमा त्रास छ । ओलीजीको गेम प्लान के छ भने, सभामुख उहाँले आफ्नो लिनुभयो । राष्ट्रपति पनि आफ्नो भएपछि प्रचण्डजीलाई उहाँले विदा गर्नसक्ने उहाँको हिडेन इन्ट्रेस्ट छ । उहाँको भित्रि एजेण्डा त्यो हो । त्यो भएपछि राष्ट्रपति पनि एउटै पार्टीको प्रधानमन्त्री पनि एउटै पार्टीको र सभामुख पनि एउटै पार्टीको हुँदा स्टेट क्याप्चर भयो नि ! त्यसलाई जसरी नि रोक्नुपर्यो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्