Logo

पुष १० मा एमालेसँग राष्ट्रपतिको कुनै सहमति भएको छैन– मात्रिका यादव



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द) का उपमहासचिव मात्रिका यादवले राष्ट्रपतिका विषयमा एमालेसँग कुनै सहमति नभएको खुलासा गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उपमहासचिव यादवले गत पुष १० मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा एमालेसँग राष्ट्रपतिका बारेमा कुनै सहमति नभएको बताएका हुन् ।

‘पुष १० गते ओलीसँग एकैछिन कुराकानी भएको थियो । कुनै ठोस निर्णय भएको थिएन । कुराकानी गर्दा उहाँले हामीलाई चाहिन्छ भन्नुभयो होला र अध्यक्ष कमरेडले छलफल गरौंला भन्नुभयो होला । कुनै सम्झौता भएजस्तो मलाई लाग्दैन । अर्कोकुरा, ओलीजीले १० गतेको कुरा गरिराख्नुभएको छ । विश्वासको मत दिने दिनमा १० गतेको सबै कुरा उहाँले तोडिसक्नु भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै राष्ट्रिय सहमति बनिसक्यो,’ उनले भने ।

अहिले मुलुकले धेरै चुनौतिहरुको सामना गरिरहेको तर्फ लक्षित गर्दै उनले संघीयताको पूर्ण कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न र देशलाई समृद्धि र सुशासनको बाटोतर्फ डोहोर्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । ‘हाम्रो अगाडि धेरै चुनौतीहरु छन् । अझैपनि संघीयता पूर्णरुपमा लागू भएको छैन । शान्तिप्रक्रिया पूरा भएको छैन । सुशासन, जनताका चाहना पूरा हुने वातावरण अझैपनि बनेको छैन । त्यसको लागि पनि राष्ट्रिय सहमतिको आवश्यकता छ,’ उनले भने ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव रहेको उनको दाबी छ । सबैलाई मिलाएर लैजाने र देशको नेतृत्व गर्ने क्षमता प्रचण्डसँग मात्र रहेको उनले दाबी गरे । ‘मैले बुझेअनुसार प्रचण्डजीकै नेतृत्वमा देश बन्नसक्छ । उहाँसँग सबैलाई मिलाएर लानसक्ने क्षमता, सोच, व्यवहार छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्