Logo

सर्वसाधारण नागरिकका लागि पासपोर्टकाे मूल्य घटाउन माग



काठमाडौं, १२ फागुन । सांसद रामहरि खतिवडाले सरकारले सर्वसाधारण नागरिकलाई सरकारले महंगो मूल्यमा राहदानी (पासपोर्ट) बिक्री गरिरहेको भन्दै मूल्य घटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले एक हजार रुपैयाँमा छपाइ गरिएको पासपोर्ट विदेशमा काम गरेर देशभित्र रेमिट्यान्स पठाउन नागरिकलाई १० हजार रुपैयाँ बिक्री गरिरहेको देख्दा दुःख लागेको बताए।

‘छपाई लागत १० डलर १५ सेन्ट अर्थात १ हजार ४३ रुपैयाँ रहेको पासपोर्ट सर्वसाधारणलाई १० हजारदेखि २० रुपैयाँमा सरकारले बेचेर लुट मच्चाइरहेको छ’ उनले भने, ‘यसको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्दछु।’

उनले आफूले रातो पासपोर्ट लिएको बताउँदै पासपोर्ट लिँदा कुनै शुल्क तिर्न नपरेको देख्दा २० हजार रुपैयाँ तिरेर पासपोर्ट लिइरहेका जनताका छोराछारीलाई सम्झिँदा निकै दुःख लागेको बताए। रातो, निलो, हरियो सबै पासपोर्टमा पैसा लिनुपर्ने व्यवस्था उनले माग गरे।

‘गरिब नागरिकले चाहिं हरियो रंगको पासपोर्ट लिँदा पैसा तिर्नुपर्ने अनि रातो पासपोर्ट बोक्ने राष्ट्रपति, मन्त्री, सभामुख, सांसदले चाहिं राज्यलाई पैसा तिर्न नपर्ने यो कस्तो व्यवस्था बनायौ ?’ उनले भने, ‘हरेक वर्ष १५ लाख वटा हरियो पासपोर्ट छपाउने गरिएको सूचना छ, त्यसैलाई बेचेर वार्षिक २४ अर्ब रुपैयाँ पैसा उठाउने गरिएको छ।’ रासस



प्रतिक्रिया दिनुहोस्