काठमाडौं, १५ फागुन । गोरखाको धार्चे गाउँपालिकामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको उद्घाटन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच विद्युत आयोजनाको भर्चुअल रुपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरेका छन्।
उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए।
प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे।
उक्त कार्यक्रममा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले स्वागत मन्तव्य दिँदै हालसम्म साथ दिने र उपस्थित सबै अतिथि,सेयर सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे।
कम्पनीको नेतृत्व गैर आवासिय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रबन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे,निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठलगायतका युवा ब्यवसायीहरु रहेका छन्।