Logo

राष्ट्रपति निर्वाचन– आठ दलको संयुक्त अभिमुखीकरण कार्यक्रम हुँदै



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम गरिँदैछ ।

आज (बिहिबार) दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने तय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने र आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गर्ने कार्यक्रम रहेको बताइएको छ । आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्