Logo

दुर्गा प्रसाईँको कार्यक्रममा गएर राजाले नागरिक सामू जाने साहश देखाए– सुरेन्द्र भण्डारी



काठमाडौं, १८ फागुन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुर्गा प्रसाईँको कालोमोसो दल्ने अभियान गलत भएको बताएका छन् । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र बुद्धिजीवि समूहले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईले उठाएका एजेण्डा सही भएपनि आन्दोलनहरु शान्तिपूर्ण र हिंसारहित हुनुपर्ने बताएका हुन् । साथै, कार्यक्रममा सहभागीहरुले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईले आगामी फागुन २० गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एैक्यबद्धता जनाएका छन् । ‘परिवर्तन नागरिकको पक्षमा हुनुपर्छ, मुलुकको पक्षमा हुनुपर्छ । त्यो परिवर्तन शान्तिपूर्ण हुनुपर्छ, हिंसारहित हुनुपर्दछ । दुर्गा प्रसाईँजीको आन्दोलनमा कालोमोसो दल्ने जुन किसिमको प्रवृत्ति आएको छ, त्यो प्रवृत्ति गलत छ । त्यस किसिमका प्रवृत्तिलाई रोक्नुपर्दछ । कालोमोसो दलेर समस्याको समाधान हुँदैन भन्ने कुरामा हामी प्रष्ट छौं । यो आन्दोलनलाई अहिंसात्मक, शान्तिपूर्ण र सशक्त बनाउँ भन्न हामी चाहन्छौं,’– उनले भने ।

अहिले मुलुक आर्थिक रुपमा ज्यादै कठिन अवस्थामा रहेको उनको भनाइ छ । लघुवित्तको ऋण तिर्न नसकेर नागरिकहरुले आत्महत्या र आत्मदाह गर्नुपरेकोमा उनले दुःख व्यक्त गरे । दुर्गा प्रसाईले नागरिकको पक्षमा उठाएको मुद्दा सही भएपनि हिंसात्मक गतिविधिलाई सही भन्न नसकिने उनको भनाइ छ । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दवाउन नहुने र प्रसाईँको आन्दोलनमा राजनीतिक दलको एजेण्डा पनि प्रष्ट हुनुपर्ने उनको भनाई छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक बनेकोमा उनले खुसी व्यक्त गरे । रास्वपा र रवि लामिछाने जनताको आशा र भरोषा बोकेको पार्टी भएको सत्ताको लिप्सता त्यागेर जनताको आन्दोलनमा जोडिन पनि उनले आह्वान गरे ।

‘रवि लामिछानेजी नेपाली नागरिक बन्नु भएको छ । त्यसको लागि म बधाई दिन चाहन्छु । उहाँ नेपाली नागरिक भएको कारणले निर्वाचनमा उठ्न पाउनु हुन्छ । त्यो उहाँको अधिकार हो । त्यसमा म खुशी छ । रवि लामिछानेजी र उहाँहरुले शत्ताको लिप्सा राख्न हुँदैन । सत्तामा बस्ने आकांक्षा राख्न हुँदैन । नेपाली समाज रुपान्तरणको वहाक बन्नुपर्छ । दुर्गा प्रसाईँको आन्दोलनलाई साथ दिनुस्’– उनले भने ।

साथै, नेकपा (माओवादी केन्द्र) आन्दोलनसमेत असफल भएको उनले बताए । दुर्गा प्रसाईँको कार्यक्रममा गएर राजाले नागरिक सामु जाने साहश देखाएको उनको दाबी छ । राजा ज्ञानेन्द्र दुर्गा प्रसाईको आन्दोलनमा सडकमा आउनु पर्ने उनको धारणा छ । ‘दुर्गा प्रसाईँजीले उठाउनु भएको राजतन्त्रको विषयमा व्यक्तिगत रुपमा मेरो सहमति छैन । तर, म राजसंस्थाको पक्षधर व्यक्ति हुँ । राजा स्वयंले आफू कस्तो राजा हुन चाहन्छन् ? कस्तो शासकीय स्वरुप चाहन्छन् ? संविधानप्रति राजाको दृष्टिकोण के छ ? उनको भूमिका के हुन्छ ? यी यावत कुरा प्रष्ट रुपमा राजाले बोल्दैनन् तबसम्म राजाको विषयमा छलफल गर्न सकिँदैन । जुनदिन राजाले यी विषयमा स्पष्ट रुपमा राजाले बोल्छन् त्यो बेला राजाको विषयमा छलफल गरौंला तर, राजालाई म एउटा कुरामा धन्यवाद दिन चाहन्छु, दुर्गा प्रसाईँजीको कार्यक्रममा गएर कार्यक्रमको उद्घाटन गरे । साहश देखाए । नागरिक समक्ष जाने साहश देखाए त्यसका लागि म राजालाई धन्यावाद दिन चाहन्छु’– उनले भने ।

साथै राजा ज्ञानेन्द्रले हिजोकै अवस्थामा शक्ति आर्जन गर्ने अभिलासा राखेको भएमा त्यो पुरा नहुने उनको भनाई छ । नेपाली कांग्रेस र एमालेले अब संघीयताको मुद्दा बोक्न नहुने उनको धारणा छ । संघीयता नेपालको परिवेशमा सफल हुन नसक्ने उनले बताए । ‘अब पनि नेपाली कांग्रेस र एमालेले संघीयतालाई बोक्ने हो भने तपाईहरु मुलुकप्रति अलिकति पनि चिन्तित हुनुहुन्न भन्ने कुरा नागरिकले विश्वास गर्नुपर्ने हुन्छ । दुर्गा प्रसाईँको आन्दोलन प्रत्येक नागरिकको आन्दोलन हो । यसलाई एमाले कांग्रेसले पनि साथ दिनुपर्छ,’– उनले भने । दुर्गा प्रसाईले उठाएको एजेण्डा मुलुकको हितमा रहेको उनले बताए । दुर्गा प्रसाईँको आन्दोलनलाई साथ दिन पनि उनले आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्